.dateHeader/>

चासोकमा झुम्मिए तन्नेरी

प्रदीप मेन्याङ्बो, धरान
पुस १२, २०७२- युवतीहरू चिटिक्क मौलिक परिधानमा सजिएर नाचिरहेको दृश्य फिल्म सुटिङको जस्तै लाग्थ्यो । तर, दृश्य लिम्बू समुदायको चाड चासोक तङनामको थियो । याक्थुङ चुम्लुङले धरानमा गरेको सामूहिक चासोक तङनाममा युवतीसँगै बालबालिकादेखि वृद्धवृद्धासम्म पालाम गाउँदै यालाङ (धाननाच) को लयमा रमाउँदै थिए ।
क्रिस्मसको रमाइलोमा युवायुवतीहरू डिस्को थेक, डान्स पार्टी, पिकनिकमा
व्यस्त भइरहेका बेला धरानका नयाँ पुस्ताले भने चासोक तङनाममा खुसी साटेको हो । अधिकांश युवायुवती आधुनिकता र परम्परा फ्युजन गर्दै चासोक तङनाममा रमे ।
नयाँ अन्न इष्टदेव तागेरा निङाफुमाङलाई पहिले अर्पण गरेपछि आफूले खाँदै मनाउने चासोक तङनाम लिम्बू समुदायको मौलिक चाड हो । ‘केही युवा क्रिस्मसतिर तानिए पनि,’ लिम्बुवा स्टडी सेन्टरका युवा स्रष्ठा अमित थेबेले भने, ‘तर मौलिक सांस्कृतिक यो चाड पहिचानसँग जोडिएकाले युवालेपछिल्ला केही वर्ष यताधुमधाम साथ मनाउन थालेका छन् ।’
आधुनिक डिजाइनको मेख्ली लाएकी कविता लिम्बू र उनका दर्जन साथीहरू सामूहिक रूपमा यालाङ र च्याब्रुङ नाच्दै थिए । यालाङ नृत्य साइनो नलाग्ने पुरुष र महिलाबीच मात्र एकआपसमा हात समाएर नाचिने भएकाले यसलाई नयाँ पुस्ताले अपरिचितसँग चिनजान गर्ने अवसरको रूपमा लिने गरेका छन् ।
 ‘नयाँ साथी बनाउन यो चाडले सघाउँछ,’ धरान–१५ की कविताले भनिन् । प्ल सटु गरिरहेका उनका साथीहरू सञ्जिता लिम्बू, दीपा लिम्बू, अञ्जु लिम्बू पनि मौलिक परिधानमा सजिएर अर्को समूहमा च्याब्रुङ नृत्यको सेल्फी खिच्दै थिए ।
चुम्लुङ धरान नगर समितिले डेढ दशकदेखि चुम्लुङहिममा चासोक तङनामलाई सांस्कृतिक महोत्सवको रूपमा मनाउँदै आएको छ । केन्द्रीय उपाध्यक्ष चन्द्रकुमारी लिम्बूले ‘मौलिकताप्रति नयाँ पुस्ता बढी नै सचेत हुन थालेको’ अनुभव सुनाइन् ।
उनका अनुसार तङनाममा लिम्बू समुदायले मिठो मसिनो खाने, छोरी चेली माइतमा आउँदा चेसुङ (कोसेली) लिएर आउने, एकआपसमा शुभकामना आदानप्रदान गर्ने र छरछिमेकमा हुक्वा (खानेकुरा) साट्ने प्रचलन छ ।
पाँचदिने उत्सवमा पूर्वकेन्द्रीय उपाध्यक्ष नरकुमारी लिम्बू र लिम्बू समुदायको प्रतीक सिलाम साक्माको प्रवद्र्धक केवलराम इमेहाङलाई सम्मान गरियो ।
मानव जीवन रक्षाका लागि रातभर चमेन तङसिङ (मुन्धुम प्रवचन–पूजा)का साथै तोङ आप्मा (धनुकाँड हान्ने), ली आप्मा (गुलेली हान्ने) खेङ लेप्मा (माछा मार्ने), पक्लुङ लेप्मा (छेलो हान्ने), हाक्पारे, ख्याली र केलाङ प्रतियोगितासमेत भइरहेको धरान चुम्लुङका अध्यक्ष सुवास लिम्बूले बताए ।


http://bit.ly/1PpMz5x

No comments:

Post a Comment