.dateHeader/>

दही स्वास्थ्यको लागि सारै राम्रो

नेपालीहरुले परापूर्वकालदेखि नै खाँदै आएको दही स्वास्थ्यको लागि सारै राम्रो गर्ने खाद्य पदार्थ हो । तर अहिले विस्तारै दही नेपालीहरुको भान्सामा हराउन थालेको छ । आधुनिकताको नाममा विस्तारै नेपालीहरुमा पनि जंक खानेकुराले आफ्ना परम्परागत खाने कुराहरुमा अतिक्रमण गरेको छ । 

गर्मिमा प्राय सबैले चिसो पदार्थ पिउने मन गर्नु स्वभाविक हो । यस्तो अवस्थामा परम्परागत रुपमा मही वा दहीको लस्सी पिउने चलन थियो । तर अहिले मही र दहीको लस्सीको ठाउँ कृत्रिम पेय पदार्थहरुले लिएको छ । यी कृत्रिम पेय पदार्थहरुले अहिले विभिन्न खालका समस्याहरु सिर्जना गरेका छन् ।
दही सजिलोसँग पच्ने खाद्य पदार्थ हो । हामी यसलाई खानाको साथमा अथवा खाना पछाडि पनि लिन सक्छौँ । फलफूलमा पनि मिसाएर खान सक्छौँ । तरकारी वा अचारमा मिसाएर

पनि खान सक्छौँ । स्वास्थ्य विशेषज्ञहरुको अनुसार दहीले शरीरलाई रोगबाट टाढा राख्न मदत गर्छ । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्दछ । दहीमा हुने जिवाणु -ब्याक्टेरिया)ले शरीरमा हुने संक्रमणबाट सुरक्षित गर्दछ । दहीमा रहेको जिवाणुले श्वेत रक्त कोशिकामा पुगेर काम गर्छ जसले प्रतिरोध क्षमता कम हुँदा हुन सक्ने बिमारीबाट जोगाउँछ ।

दहीमा मिनरल र क्याल्सियमको मात्रा प्रशस्त रहेको हुन्छ । अस्ट्रियोपोरोसिसबाट पीडित विरामीलाई पनि दही खाने सल्लाह दिइन्छ । स्किम्ड दूधबाट बनेको दही मुटुको रोगीलाई पनि राम्रो हुने मानिन्छ । दहीमा कार्वोहाइडे्रट, प्रोटिन र क्याल्सियमको मात्रा पनि पाइन्छ ।
दही हरेक उमेर समूहको मानिसको लागि उपयोगी छ, तर बढी चिल्लो -फ्याट) भएको दही भन्दा अत्यन्त कम चिल्लो भएको दही स्वास्थ्यको लागि राम्रो हुन्छ । घरमा बनाउन सकिएन भने पनि बेलायतमा पसलहरुमा पनि विभिन्न प्रकारका दही पाइन्छन् । यस्ता दही किन्दा खासगरी चिल्लो पदार्थ -फ्याट) कति छ भन्ने कुरा लेवलमा लेखिएको हुन्छ । त्यसलाई ध्यान दिएर आफ्नो परिवारमा यदि एकदमै कम चिल्लो भएको दही नै ठीक हुन्छ भनेदेखि एकदमै कम चिल्लो दही किन्नु राम्रो हुन्छ । अहिले बजारमा प्रोवायोटिक दही पनि किन्न पाइन्छ । अहिलेसम्मको अध्ययन अनुसार यो दही स्वास्थ्यको लागि लाभदायक छ भनिए पनि केही विवाद पनि रहेको छ ।
दहीको प्रयोग खाना बाहेक नेपालको कतिपय ठाउँमा औषधिको रुपमा पनि गरिन्छ । गानोगोलामा दहीमा बेसार घोलेर खाने गर्नु प्रायः नेपालभरि नै प्रचलित परम्परा हो । यसको वैज्ञानिक परीक्षण भएको छैन तर पनि यसले गानोगोला ठीक भएको अनुभव गर्नेहरु प्रसस्त पाइन्छन् । त्यस्तैगरी चायाँ हुनेहरुले कपालमा दही दल्ने र करीव आधा घण्टा राखेर नुहाउँदा चायाँ कम हुने गरेको पनि केहीको अनुभव रहेको बताउँछन् । खासगरी भारत र नेपालमा दही यसरी चायाँको घरेलु औषधिको रुपमा प्रयोग हुने गर्छ । यसको पनि वैज्ञानिक परीक्षण भने भएको छैन । अनुहारमा चमक ल्याउन दहीमा आँटा मिसाएर लगाउनेहरु पनि पाइन्छ तर यसको पनि वैज्ञानिक परीक्षण भने भएको छैन ।
दही खानामा हुनु अत्यन्त सही छ । त्यसैले कृत्रिम पेय पदार्थहरु घटाएर हामीले पुस्तौँ देखि खाँदै आएको दहीलाई त्यसको सट्टामा प्रयोग गर्‍यौँ भने धेरै समस्याहरुबाट हामीले मुक्ति पाउन सक्छौँ ।

No comments:

Post a Comment