तनाबबाट मुक्त पार्छ गुलियो चियाले
कामको व्यस्तता तथा अन्य कारणले तनाबको सामना गरिरहनुभएको छ भने अब खुसी हुनुहोस् । हालै गरिएको एक नयाँ अनुसन्धानले तनाबबाट मुक्ति पाउन गुलियो चियाको सेवन गरे फाइदा गर्ने तथ्य सार्वजनिक गरेको छ ।
न्यू साउथ वेल्स र क्विन्सल्यान्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले कुनै पनि व्यक्ति तनाबमा छ र काममा ध्यान दिन सकेको छैन भने गुलियो चियाको सेवन गरी थोरै आराम गरेपछि उसको तनाब हराएर जाने तथ्य पत्ता लगाएका छन् ।
अस्टे्रलियका मनोवैज्ञानिकले गरेको अध्ययनअनुसार, गुलियो चियाको सेवनका कारण प्राप्त हुने शक्तिले दिमागमा सन्तुलन कायम राख्ने भएका कारण मानिस तनाबबाट मुक्त हुनेछन् । अनुसन्धानकर्ताले विभिन्न व्यक्तिलाई छुट्टाछुट्टै प्रकृतिका चिया सेवन गर्न दिएका थिए । कागती मिसाइएको, गुलियो मात्र राखिएको, चिनी राखेर बनाइएको साधारण चिया तथा अन्य गुलियो पदार्थ राखेर बनाइएको चिया सेवन गर्न दिइएको थियो । जसमा चिनी हालेर बनाइएको चिया सेवन गर्ने व्यक्ति छिटो तनाबबाट मुक्त भएर काममा ध्यान दिइएको पाइएको थियो । 'कार्यालयको काममा व्यस्त भएका र तनाबमा रहेका व्यक्तिमा गरिएको अध्ययनमा कागती भएको चिया सेवन गर्नेको तुलनामा गुलियो चिया सेवन गर्नेको तनाब छिटो कम भएको पाइयो,' अनुसन्धानको प्रतिवेदनमा भनिएको छ ।
अध्ययनले तनाबमा रहेका व्यक्तिमा गुलियो चियाको सेवनले गर्दा मस्तिष्कमा आवश्यक ग्लुकोज तथा अन्य शक्तिको मात्रा पुर्याउन सहयोग गर्ने र मस्तिष्कलाई आराम प्रदान गर्ने भएकाले गुलियो चिया सेवन गर्ने तनाबबाट मुक्त हुन पुगेको निष्कर्ष निकालेको छ ।
No comments:
Post a Comment