.dateHeader/>

७. गीतिकाव्य— घाँटु DB Gurung



Source dbgurung.com  घाँटु भनेको अंग विन्यासद्धारा मन्द गतिमा प्रस्तुत गरिने एक किसिमको कलात्मक एवं अलौकिक नृत्य हो । लयबद्ध भाषामा रागद्धारा गाइने गुरुङहरुको मौलिक गीतिकाव्य हो । लमजुङका ‘ख्याल्बो रोजा उपनाम भएको पर्सैं ख्ले (क्ले) भन्ने परसुराम घले राजा’ र रानी यमावतीको वीरगाथा र अमरगाथा गीतकै लयमा गाएर संझना गरिन्छ । यो घाँटु माघ महिनाको श्रीपञ्चमीको दिनमा स्थापना गरेर तीन महिनसम्म औसी, पूर्णिमा र गाउँ बार्ने दिनहरुमा लगातार अभ्यास गरेर बैसाख पूर्णिमाको अघिल्लो दिनदेखि सिंगार पटार गरेर सजाएको मञ्मा प्रर्दशन गरिन्छ । पूर्णिमाको दिनमा दिनभरि प्रर्दशन गरेर भोलि पल्ट सुर्यास्त नहुँदै देउराली डाँडामा
लगेर समापन गरिन्छ । पर्वको अतिथिहरु त्यस गाउँको विवाहित चेलीबेटी र ज्वाइहरुकासाथै वरपरका गन्य मन्यहरुलाई निमन्त्रण गरिन्छ । अतिथिहरुले आफ्नो गच्छे अनुसार दान हालेर घाँटु नाचको आतिथ्याइ स्वीकार गर्ने गुरुङहरुको मौलिक संस्कार रहि आएको छ ।
यो घाँटु शब्द दुइवटा शब्दहरुको संयोजनबाट बनेको छ । ‘घाँ+टु = घाँटु’ । ‘घाँ’ भनेको तमु भाषाको मूल शब्द ‘गह’ अर्थात घाउको वहुरुपी स्वरुप हो । अर्थात काँक्रोको चिराझै चिराचिरा परेको हेर्न पनि नसकिने भयंकरै डरलाग्दो एवं कहिलै निको नहुने ऐतिहासिक घाउ हो । ‘टु’ भनेको तमु भाषाको मूल शब्द ‘टुब’ अर्थात् सिलाउनु हो । त्यसैले, इतिहासको कालखण्डमा गुरुङको लोकप्रिय लमजुङगे घले राजालाई शाह राजाले गेँडाइ दिएपछि गुरुङ समुदायमा पर्न गएको ऐतिहासिक घाउलाई मन्द गतिको अलौकिक नृत्य र रागद्धारा गीत गाएर घाउलाई सिलाएर मलम लगाउन प्रयत्न गरिएको मौलिक गीतिकाव्य हो । यही राग घाँटुको मूल सार हो ।
एक दिन बिहानै त्रिकालदर्शी नम ‘ख्होल–सों–थर’को राजा दबु ख्याल घलेको राजदरबारमा आयो । राजाले गुरुको सेवासत्कार गरेर भलाकुसारी ग¥यो । अब म चालीस नाँघिसकेँ जायजन्म केही पनि भएन । मेरो जन्मकुण्डली राम्रोसंग विचार गरिदिनु, राजाले भन्यो ।
हे राजन, तपाईको कुण्डलीमा कुनै जायजन्म देखिदैन तर … गुरुले भने । अब कसो गर्ने त गुरु भनेर राजाले विलाप गरेपछि एउटा उपाए छ, गुरुले भन्यो । के उपाए छ ? कस्तो उपाए छ ? विधिविधान पु¥याएर गरिदिनु, राजाले भन्यो ।

१. यमावतीको दिव्य जन्म
राजाको इच्छा मुताबिक राजदरबारमा विर्यदान महायज्ञ भयो । यज्ञको मूल कार्यक्रम सकिएपछि गुरुले रानीलाई यज्ञस्थलमा बोलाउँनु, भने । राजाले आफ्नो दासलाई इसारा ग¥यो । दासले दासीलाई गएर भन्यो र दासीले रानीलाई भन्न गयो । रानी गुप्त कोठामा थिइन् । त्यसैले दासी आएर रानी गुप्त कोठामा छिन, भनिन् । त्यही कुरा, राजाले गुरुलाई भन्यो । यज्ञ गर्ने बेलामा गुप्त कोठामा बस्ने ? अब यज्ञको समय टरिसक्यो भनेर गुरुले रिसाउँदै यज्ञमा पानी फाल्यो । पानी फालेपछि अग्निकुण्डबाट १६ वर्षे दिव्य कन्याको जन्म भयो । दिव्य कन्या अग्निकुण्डबाट निस्केर गुरु र राजालाई ढोगिन । त्यसैबेला, रानी यज्ञस्थलमा आइपुगिन् । यिनी हाम्री दिव्य कन्या हुन्, राजाले भने ।
राजा र रानीले हाम्री दिव्य कन्याकी नाम के राख्ने भनेर गुरुलाई सोध्दा, यी दिव्य कन्या यम देशबाट गर्भधान हँुदै आग्निकुण्डबाट प्रकट हुन आएकी हुन् । दिव्य कन्या अत्यन्तै सुन्दरी एवं बत्तीसै लक्षणले युक्त भएकी र यम देशकी प्रतिनिधिका रुपमा रहेकीले यिनको नाम ‘यम ह्याकुती’ राख्दा अर्थ सिद्ध होला, गुरुले भन्यो । (गुरुङ भाषामा ह्याकुतीको अर्थ इन्द्रेणी हुन्छ) ।
यम ह्याकुतीको दिव्य जन्मको पावन अवसरमा ‘ख्होल–सों–थर’मा तीन दिनसम्म दीपावली गरी भव्यरुपमा जन्मोत्सव मनाइयो । ‘ख्होल–सों–थर’को जनजीवनको जिब्रोमा यम ह्याकुती भनेर पूर्णरुपमा स्पष्टसंग उच्चारण गर्न असजिलो भएको हुनाले यमाकुती, हेमावती, युमावती भन्दै आएको हुनाले कालन्तरमा उनको नाम ‘यमावती’ रहन गयो ।

२. यमावतीको विवाह
राजा रानीले यम ह्याकुतीको विवाह कोसंग गरिदिँदा राम्रो होला भनेर कुलगुरुसंग परामर्श गर्दा, यिनी दिव्य कन्या भएकीले आगोले पोल्न नसक्ने, हुरी बतासले उडाउँन नसक्ने, पानीले पनि बगाउँन नसक्ने र युग युगसम्म अमर हुने वरदान प्राप्त गरेकी छिन् । त्यसैले, यस्तो दिव्य कन्याको वर पनि सुरवीर एवं
महाप्रतापी राजकुमार उपयुक्त हुन्छ भनेर गुरुले भनेपछि ‘ख्होल–सों–थर’मा युद्धकलाको प्रतियोगिता भयो ।
राजाको आदेश अनुसार ‘ख्होल–सों–थर’को महामन्त्री अरसु ख्ले (क्ले) घलेले युद्धकलाको प्रतियोगिताको तयारी ग¥यो । तोकिएको समय र स्थानमा ‘ख्होल–सों–थर’को सम्पूर्ण सुरवीरहरुको जमघट भयो । युद्धकलाको प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा महामन्त्री अरसु घलेको छोरा पर्सै ख्ह्ले (क्ले) भन्ने परसुराम घले सर्वश्रेष्ट घोषणा गरियो ।
ख्होल–सों–थरको ख्ह्ले (क्ले) घले राजपरिवारको परम्परानुसार यमावतीको विवाह महामन्त्री अरसु घलेको छोरा पर्सै ख्ह्ले (क्ले) भन्ने परसुराम घलेसंग धुमधामसंग सम्पन्न गरी परसुराम घलेलाई युवराज पनि घोषणा ग¥यो । (यसरी सर्वश्रेष्ट राजकुमार छानिएकोले उनको उपनाम ख्याल्बो रोजा राखिएको हो) विवाह हुने समयमा यमावतीले परसुराम घलेसंग एउटा वाचावन्धन गरेकी थिइन । त्यो के थियो भने ‘रानी पहिले मरे राजा जोगी भएर जंगल जाने र राजा पहिले मरे राजासंगै रानी सती जाने’ थियो । स्वर्गझै सिंगारिएको राजदरबारमा विवाह सम्पन्न भएपछि साँझ भोजभतेर सहित जलपान र मदिरापान भयो । सबै भारदारहरु खुसियाली मनाउँदै थिए ।
ख्होल–सों–थरमा हिजो राजनीतिक विद्रोह हुँदा दबु क्याल घलेले विद्रोह दबाएर सत्तामा आएका थिए । तिनै विद्रोही समूहका भाइ छोराहरु दबु ख्याल राजासंग बदला लिने उद्देश्यले विवाहको अवसरमा जलपानले लठ्ठिएको उपयुक्त मौका छोपी हतियार सहित लुकिछिपी राजदरबार पसी सबै भारदारहरुलाई नरसंहार गरे । यस्तो नरसंहारको दृश्य देखेर राजा र रानीको ह्रदयगति रोकिएर बसेकै ठाउँमै मृत्यु भयो । अधिकांश भारदारहरु काटिए मारिए । कति घायल भए । युवराज परसुराम घले र यमावती लुकिछिपी नम गुरुको शरणमा पुगे । केही समय त्यही गुम्बामै बसी नयाँ कार्य योजनाहरुको रुपरेखा तयार गरे ।

३. लमजुङमा घले राजाको उदय
ख्होल–सों–थर छत्रभंग भएपछि ख्याल्बो रुजु वा पर्सै ख्ह्ले (क्ले) भन्ने परसुराम घले र यमावतीले आफुसंग मनपेट मिलेका केही परिवार र भारदारहरु लिएर नमगुरुको परामर्श अनुसार पूर्वदिशा तिर आए । पाँच गाउँ कोँम्रो गाउँदेखि माथि म्हिल्दोकोट स्थापना गरेर केही वर्ष बसे । त्यसपछि लमजुङ १० थर डाँडामा आएर हेर्दा राम्रो, उज्यालो र रमाइलो चउर भएको स्थान देखेर त्यही चउरमा आफ्नो राज्य स्थापना गरे । घले राजाले आफ्नो राज्यको नाम ‘लमचुँ’ र राजसभाको नाम ‘नालछोज’ नामकरण ग¥यो । मन्त्रीलाई ‘ख्याल’ भन्ने पद दियो । पछि घले राजाको पतन भए पछि सो गाउँ घलेगाउँको नाउँबाट परिचित भयो ।

४. घले राजाको राज्य क्षेत्रहरु
प्रथम क्षेत्रको गाउँहरुमा भुजुङ, उपल्लो घनपोखरा, तल्लो घनपोखरा, नायु, लामागाउँ, कपुरगाउँ, रापासिँ, नजरे, माहालिङ, पुमा, बिम्दा र नाल्मा थियो । यस क्षेत्रलाई १० थर भनियो । घलेगाउँ राजधानी थियो । १० थर डाँडाको नालछोँज हुने स्थान ‘कपुरगाउँ’ थियो ।
द्धितीय क्षेत्रको गाउँहरुमा पसगाउँ, सिङदी, कुम्लुङ, चारा, भोजे, मोप्योङ, धाम्राङ, तोँबु, टक्सर, छाप, डडुवा, गिलुङ र कल्याङ थियो । यस क्षेत्रलाई पाँच गाउँ भनियो । पाँच गाउँ क्षेत्रको नालछोंज हुने स्थान ‘साल्मे डाँडा’ थियो ।
तृतीय क्षेत्रको गाउँहरुमा पाख्रिकोट, वार्चोक, भाचोक, नागिधर, याङजाकोट, ध्याम्राङ र ताङतिङ थियो । यस क्षेत्रलाई छ गाउँ भनियो । छ गाउँको नालछोंज हुने स्थान ‘याङजकोट’ थियो ।
चौथो क्षेत्रको गाउँहरुमा च्याम्चे, जगत, चजक्यु, सिउरुङ, ताध्रिङ, थाकन, सिलढुंगा, मिप्रा, ढगै, टोँबु, खुदी, निम्द, रोउ, फाँचे, कसिँतुँ, सञ्जाबु, थालाजुङ, कालाधिरिङ, चिप्लो, उस्ता, भिर पुस्तुन, तराचे, भुलभुले र भंगेरी थियो । यस क्षेत्रलाई चौध खोला भनियो । चौध खोलाको नाल छोंज हुने स्थान ‘खुदी’ थियो ।
पाँचौं क्षेत्रको गाउँहरुमा खासुर, भाचोक, हिले, टक्सर, लाँकुरीबोट र चिसापानी थियो । यस क्षेत्रलाई बाह्र थर भनियो । बाह्र थरको नाल छोंज गर्ने स्थान ‘खासुर’ थियो ।

५. नाल छोजको उद्देश्य
(क) दाइले भाइलाई नमिच्नू ।
(ख) धनीले गरिवलाई नमिच्नू ।
(ग) बलियोले निर्बलियोलाई नमिच्नू ।
(घ) अम्माली जिम्मालीले सर्वसाधरणलाई नमिच्नू ।
(ङ) सर्वसाधरणले अम्माली जिम्मालीलाई नमिच्नू ।
लमजुङको घले राजाले स्थापना गरेको नालछोंजको उद्देश्य ‘बहुजन हिताय वहुजन सुखाय’ वा समानताको आधारमा आधारित थियो । नाल छोंजमा विशेष गरेर जग्गा जमिन, खोरिया, भीरपाखा, खोला, नाला, पोखरी, बन, जंगल, बाटो, घाटो, चौतारी, ठाँटी, पौवा, खर्क, खर्चरी, पुवाघारी, मौरीको भीर, डाँफेचरन, माछाचरन, गौचरन, साँध सिमाना, थिती बन्देज, रीतिरिवाज, चाडपर्व, संस्कृति, संस्कार आदिको बारेमा छलफल गरेर थिति बाँध्ने थियो । यी थितिहरु सर्वसाधरण सबैलाई मान्य हुन्थ्यो ।

६. ऐतिहासिक पृष्ठभूमि
हिजो लमजुङ १० थर डाँडामा रजाइँ गर्ने ख्याल्बो रोजा उपनाम भएको पर्सै ख्ह्ले (क्ले) भन्ने परसुराम घले राजाले सिकार खेल्ने निहुमा कालु शाहको हत्या ग¥यो । कालु शाहको हत्या घले राजाले गरेको हुनाले राजा यशोब्रम्ह शाहको घले राजासंग नराम्रो इबी थियो । त्यसो भएको हुनाले शाह राजाले घले राजालाई जसरी पनि सिध्याउने कपट उद्देश्य लिएर शान्ति संझौता गरौं भनेर प्रस्ताव ग¥यो । सरल स्वभाव र सोझो मन भएको घले राजाले ‘बहुजन हिताय वहुजन सुखाय’को लागि शान्ति संझौताको प्रस्ताव स्वीकार ग¥यो ।
अन्तमा, जमजुङ जिल्लाको सिम्पानी गाउँ विकास समिति अन्र्तगतको सेरागाउँ र चण्डिस्थान गाउँ विकास समितिको खत्री गाउँकोबीचमा लामा गाउँदेखि पूर्वतिर बग्दै आएको भलम खोला र मस्र्याङदी नदीको दोभान ‘मालेबगर’मा बैसाख पूर्णिमाको दिनमा शान्ति संझौताको मिति तोकियो । शान्ति संझौतामा निशस्त्र उपस्थित हुने शर्त पनि दुबै राजाबाट स्वीकार भयो । तोकिएको मिति र समयमा भलम खोला र मस्र्याङदी नदीको दोभान मालेबगरमा दुबै राजाहरु आ–आफ्ना सेना सहित उपस्थित भए । शान्ति संझौताको प्रस्तावमा छलफल भयो । छलफलबाट कुनै निर्णय हुन नसकेपछि छलकपटमा निपुण भएका शाह राजाका सेनापतिले राति नै बालुवा मुनि लुकाएर राखेका हतियारहरु झटपट निकालेर घले राजालाई गेँडाइ दिए । कपट र षड्यन्त्रद्धारा घले राजा मारिएपछि हतियार रहित भएका उनका सेनाहरु ज्यान जोगाएर भागे ।

७. सती घाँटुको जन्म
रानी यमावतीले राजा गिँडिएको खबर पाएपछि थालमा दूध हाली आफ्नो दिव्यशक्तिद्धारा राजाको अवस्था हेरिन् । त्यसरी हेर्दा रानीले दूधमा रगतै रगत जमेको देखेपछि राजाको मृत्यु भइसकेको विश्वास भयो । त्यसपछि आफ्नो दरबारमा भएका चलअचल धनसम्पत्तिहरु मन्त्रीलाई र नाबालक बरसु घलेलाई धाइ आमासंग सुम्पेर आफुले गरेको वाचाबन्धन अनुसार मालेबगर पुगी राजासंगै सती जान चित्तामा बसिन् ।
राजाको मृत शरीर आगोले भष्म ग¥यो तर रानीलाई आगोले छोएन । नछुएपछि मेरो मृत्यु कहाँ छ भनेर नजिकैको मस्र्याङदी नदीमा पसिन् तर नदी थपक्क जम्यो, किनभने, यमावती दिव्य जन्म भएकीले आगोले पोल्न नसक्ने, हुरी बतासले उडाउँन नसक्ने, पानीले बगाउँन नसक्ने र अमर हुने वरदान प्राप्त थिइन । त्यसैले, आफ्नो मृत्यु खोज्न जंगलमा पसिन् । जंगल पसेपछि कुसुण्डी भइन् । त्यहीबाट गुरुङ संस्कृतिमा घाँटुको जन्म हुन्छ । अर्थात् रानी यमावतीनै घाँटुको मूल विज हो । रानी यमावती सती गएकी स्थान भलम दोभानलाई ‘सतीघाट’ पनि भन्दछ ।
घाँटु माघ महिनाको श्रीपञ्चमीको दिन स्थापना गरिन्छ । किनभने राजा परसुराम घलेको जन्म श्रीपंचमीको दिनमा भएको थियो । त्यसैले, उनको अमरगाथाको स्मरण गर्नका लागि श्रीपञ्चमीकै दिनमा घाँटुको स्थापना गरिन्छ । घाँटु सती, कुसुण्डी र बाह्रमासे गरी तीन प्रकारका छन् ।

८. सती घाँटु स्थापनाको साँगोपाँगो
गाउँमा घाँटु सञ्चालन गर्ने निधो भएपछि माघ महिनाको श्रीपञ्चमीको दिनमा गाउँका पञ्च भलादमीहरु, घाँटुगुरुहरु, गुरुआमाहरु र रुघींका युवा युवतीहरु जिम्माल वा गाउँको प्रमुख भलादमीको घरमा जम्मा हुन्छन् । यस पटकको घाँटु कस्ले राख्ने भन्ने बारेमा अघिल्लो दिनमै निधो भइसकेको हुन्छ । त्यसैले त्यो दिनमा एउटा औपचारिकता मात्र पुरा गर्न घाँटु राख्ने समूहले एउटा रक्सीको पुङमा तीनपट्टि नौनीध्यू लगाएर मुखमा केराको पातले बाँधेर प्रमुख भलादमीको अगाडि सगुनका रुपमा चढाउँछन् । त्यसरी चढाउँन आएपछि मुख्य भलादमीले पनि सगुन स्वीकार गरेर त्यो वर्षको घाँटु सञ्चालनमा आवश्यक पर्ने सम्पूर्ण जिम्मेवारी त्यो समूहलाई सुम्पिन्छ । यसरी जिम्मेवारी लिनेहरुमा रुधीं परिवार नै बढी हुन्छन् । रुघीं नभएका गाउँहरुमा आमासमूह र पञ्च भलादमीले पनि जिम्मेवारी लिने गर्दछन् ।
घाँटु व्यवस्थापनका लागि निश्चित समूहले जिम्मेवारी लिइसकेपछि सर्वप्रथम त्यो वर्षको घाँटु सञ्चालनका लागि समूहबाट एक जना विश्वाशिलो व्यक्तिलाई ‘डिठा’ भनेर चुनिन्छ । घाँटुको स्थापनादेखि समापनसम्मको सम्पूर्ण कार्यभार डिठाको निर्देशन अनुसार सञ्चालन हुन्छ । त्यसैले घाँटु पर्वमा डिठा महत्वपूर्ण पात्रको रुपमा रहन्छ ।
त्यो दिनमा दुइ जना नयाँ घाँटुनीहरुको चयन गरिन्छ । त्यसरी चयन गर्दा १२, १३ वर्ष पुगेको कुकुरले नटोकेको, सर्पले नटोकेको र ढिकी झाँतोले हात खुट्ट नबिगारेको सुन्दरी कन्याहरुलाई चयन गरिन्छ । चयन गरिसकेपछि ती कन्यहरुलाई हात खुट्टका नङहरु काटिदिने, नाक कानका गहनाहरु फुकाली पधेरामा लगि नुहाई दिएपछि गोबरले लिपेर वाला (बन केराको पात) ओछ्याएर त्यसमाथि घाँटुनीहरुलाई बसाउँछन् । घाँटुनीहरु अगाडि चोखो पानी, पूmलपाती र अक्षता राखी बत्ती बाल्छन् । त्यति काम भइसकेपछि घाँटुका गुरुहरु दाहिनेपट्टि र गुरु आमाहरु बायाँपट्टि बस्छन् ।
त्यसपछि प्रमुख गुरुले पूmलपती हातमा लिएर घाँटुको इष्ट देवताहरुः हिमचुली, वरचुली, देवचुली, यमचुली र मनचुलीकासाथै सिल्दो, साक्षी, सिमे, भुमे, देबी, देउता, देउराली, भयारी, ल्ह, ल्हु, नाग नागिनी आदि सबैलाई पूजा गरी रागद्धारा एक चरण घाँटु गीत गाउँछन् । यसरी गीत गाइसकेपछि घाँटुनीहरुको अंगमा घाँटु चढ्छ । घाँटु चढिसकेपछि भाले घाँटुनीले राजा र पोथीले रानीको स्वरुप धारण गर्दै मन्द गतिमा अलौकिक नृत्य प्रस्तुत गर्दछन् । प्रथम दिनमा यति कार्य सम्पन्न भइसकेपछि घाँटुको प्रथम साँगोपाँगो पूर्णरुपमा सफल भएको मानिन्छ ।
घाँटु पर्वमा अतिथि सत्कार, आयल गयल, आमिदामीका साथै खानपानका सम्पूर्ण व्यवस्थापन डिठाको निर्देशन अनुसार हुन्छ । श्रीपञ्चमीदेखि औसी, पूर्णिमा र गाउँ बार्ने दिनहरुमा लगातार तीन महिनासम्म अभ्यास गरेर वैशाख पूर्णिमाको प्रथम प्रहरदेखि सिँगारिएको मञ्चमा प्रदर्शन गरी भोलि पल्ट बेलुकी पख देउरालीको डाँडामा लगेर रागको गीतबाटै घाँटुको विधिवत पूजा गरी समापन गरिन्छ ।
यसरी मन्द गतिको अलौकिक नृत्य प्रदर्शन गरेर समापन गर्नुको अर्थ के छ भने हिजो घले राजालाई शान्ति संझौताको नाउँमा छलकपट गरेर वैशाख पूर्णिमाकै दिनमा गिँडाइ दिएको हुनाले सोही अवस्थाको स्मरण गर्दै पूर्णिमाको भोली पल्ट देउराली डाँडामा राजा रानीलाई सम्मानका साथ राजकीय श्रद्धाञ्जलि
अर्पण गरिएको हो ।
घाँटु पर्वमा भएको आमिदामीबाट जेष्ठ पूर्णिमाको आसपासमा अनुकूलता हेरी गाउँका सम्पूर्ण मानिसहरु, ज्वाइ चेलीहरु र वरपरका भद्रभलादमीहरु सहितलाई निमन्त्रणा गरेर धुमधामका साथ (खुवइ) वनभोज खाने चलन छ ।

९. गीति काव्यघाँटु
गीतिकाव्य घाँटुको गीत सम्पादन हँुदै छ । क्रमश …

घाँटुनीहरु गुन्यूचोली लगाएर गुरुङको भेषभूषामा सजिएकी हुन्छे । शिरमा धान भुटेर पूmलेको सेतो लयाँबाट मुकुट बनाएर लगाउँछिन् । जसलाई राजा रानीको श्रीपेचको प्रतीक मानिन्छ ।
बाह्रमासे घाँटु सती घाँटु जस्तोरी विधिविधान पुराएर नाच्नु पर्ने होइन । यो जहिले पनि नाच्न र गाउँन मिल्छ । यो घाँटु विशेष गरेर रमाइलो चाड पर्व र अतिथिहरुको अनुरोधमा पनि प्रस्तुत गरिन्छ । यो घाँटुको गीत झ्याउरे भाषामा गाइन्छ । त्यसैले यसलाई झ्याउरे घाँटु पनि भनिन्छ । तर वैशाख पूर्णिमादेखि असोज सुक्लपक्षसम्म सती धाँटुको नृत्य गर्न हँुदैन ।
कुसुन्डी घाँटुको मूल विज हो । कुसुन्डी घाँटु स्थापना गरेपछि घाँटुनीहरु गीतकै रागबाट बेहोसी अवस्थामा पुग्छन् । बेहोसी अवस्थामै नृत्य प्रदर्शन गर्छन् । सम्पूर्ण प्रदर्शन कार्य सम्पन्न भएपछि गीतकै रागबाट व्युउँझाउने कार्य हुन्छ । त्यसैले, यो घाँटु खतरनाक हुन्छ । परिपक्क गुरुहरु छैनन् भने यो घाँटु प्रर्दशन गर्न सकिदैन । हाल गुरुङ समुदायमा यो घाँटु नाममा मात्र सीमित हुन आएको छ ।

१०. कुसुण्डी घाँटुको कथा
हिजो लमजुङ जिल्लाको १० थर डाँडामा कुसुन्डी घाँटुको स्थापना भयो । गुरुले गीतकै रागबाट घाँटुनीहरुलाई बेहोस बनाइ घाँटु प्रदर्शन ग¥यो । प्रदर्शन समाप्त भएपछि घाँटुनीहरुलाई जगाउँनका लागि गुरुले गीतैबाट राग फर्कायो तर घाँटुनीहरुलाई जगाउँन सकेनन् । नसकेपछि मृत्यु भयो भनेर चिहानडाँडामा लगेर गाडियो ।
घाँटुनीहरुलाई जिउदै गाडेको घटनाले यमावतीलाई औधी पीडा भयो । त्यसैले, दिव्य जन्म भएकी रानी यमावती जो सतीकाण्ड पछि कुसुण्डीको भेषमा जीवित थिइन, एक जना गोठाल्नीको भेषमा कुसुण्डी घाँटुको गीत गाउँदै चिहान नजिकै आइ पुगिन् । त्योे गीतले घाँटुनीहरु पुनः बोहोरिएर चिहान उठाउँदै निस्कियो । तिमीहरु को हौ भनेर गोठाल्नीले सोध्द हामीहरु कुसुण्डी घाँटुनीहरु हांै । तीन दिन अगाडि गुरुले रागबाट जगाउँन नसकेपछि हामीलाई मृत्यु भयो भनेर यहाँ गाडिएको हो तर अहिले तपाईको गीतले हामीहरु बोहोरियौं भने । गोठाल्नी र घाँटुनीहरुबीच यति सम्वाद भएपछि गोठाल्नीले घाँटुनीहरुलाई गाउँमा पु¥याइ दिए । घाँटुनीहरु बोहोरिएर आएको देखेर गाउँलेहरु सबै खुसी भए ।
गोठाल्नीलाई सम्मान गर्ने भनी गाउँलेहरु भेला भए तर गोठाल्नी जंगलतिर फर्किसकेकी थिइन् । उनी फर्किएको दुई जना घाँटुनीहरुले बाहेक अरु कसैले पनि देखेनन् । प्रमुख घाँटु गुरुले गोठाल्नीलाई भेट्न नपाएपछि उनी को थिइन भनीे ध्यानदृष्टिबाट हेर्दा, कुसुण्डी बनेकी रानी यमावतीनै गोठाल्नीको भेषमा आएर घाँटुनीहरुलाई जगाएको विश्वास भयो । कुसुण्डी गीतको पूर्णपाठ सिक्न कुसुण्डीलाई खोज्दै गुरु पनि जंगलै पसे तर गुरु कहिलै फर्किएन । त्यसैले, कुसुण्डीको पूर्णपाठको गीत कसैले पनि सिक्न सकेन । त्यहाँबाट गुरुङहरुले कुसुण्डी घाँटुको नाउँमा केही अंशमात्र प्रदर्शन गर्न थाले । त्यसैले कुसुण्डी घाँटु नाउँमा मात्र जीवित रहन पुगेको छ ।
यो गीतिकाव्य घाँटु गुरुङ समुदायको महान सांस्कृतिक एवं ऐतिहासिक पर्व हो । घले राजाको राजदरबारमा राजनीतिक पूर्वग्रहीबाट नरसंहार भएपछि ख्होल–सों–थरको छत्रभंग भयो । त्यसपछि राजा ख्याल्बो रोजा उपनाम भएको पर्सै ख्ह्ले (क्ले) भन्ने परसुराम घलेले अहिलेको घले गाउँ भएको ठाउँमा राज्य स्थापना गरेको हुनाले उक्त ठाँउलाई घले गाउँको नामबाट परिचित हुन आयो ।
घले राजा र रानी यमावतीले ‘ख्होल–सों–थरदेखि सतीघाट माले बगर’सम्म ऐतिहासिक यात्रा गरेको हुनाले राजा रानीको वीरगाथा र जीवन गाथा छन्द छन्दमा रागद्धारा गाएर मन्द गतिको अलौकिक नृत्य प्रदर्शन गरिने घाँटु नृत्य गुरुङ समुदायको मौलिक गीतिकाव्य हो ।

No comments:

Post a Comment