.dateHeader/>

Gorकहाँ कसरी मनाईंदैछ माघे सक्रान्ति ?

काठमाडौं,  – आज माघे संक्रान्ति पर्व, देशभर स्नान, दानलगायत विभिन्न धार्मिक कार्य गरी मनाईंदैछ ।
आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा मकर राशिमा प्रवेश गर्ने हुनाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । आजको दिन घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडीलगायतका परिकार खाने गरिन्छ ।
थारु समुदायले यस पर्वलाई नयाँ वर्ष प्रारम्भ भएको दिनका रुपमा मनाउने गर्छन् । आजको दिन कमैयाबाट मुक्त हुने
स्वतन्त्र दिवसका रुपमा पनि मनाइन्छ ।
एकै दिन पर्ने र एउटै नामको पर्व माघे संक्रान्तिलाई पनि भिन्नभिन्न भेग र समुदायमा फरक ढंगले मनाउने प्रचलन छ । माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् ।
ज्योतिषीय दृष्टिकोणमा सूर्यले धनु राशीबाट मकर राशीमा सङ्क्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर सङ्क्रान्ति रहन गएको हो । सूर्यको उदयविन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ ।
माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्न(सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ ।
माघे सङ्क्रान्ति आउनुभन्दा एक दुई दिन अगाडि सङ्क्रान्तिको दिनलाई भनेर गाउँघरतिर आफ्नो घरमा भएका गल, बाउसो, खन्ती आदि खन्ने चिजबीज बोकेर नजीकको वनतर्फ लाग्ने मानिसहरूको भिड देख्न पाइन्छ । यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ ।
नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ । माघेसङ्क्रान्तिलाई थरिथरिका जनजातीले किसिमकिसिमले मनाउने चलन छ, ।
नेवारहरू यस पर्वलाई ‘घ्यूचाकु सँल्हु’ भन्दछन । यस दिन उनीहरू चाकुमा तिल मिसाएर लड्डु बनाई खाने र दान दिने काम गर्दछन् ।
विहानै उठेर स्नान गरी घरको सम्पूर्ण भाग सरसफाई गर्ने, देवी देवताको पूजा गर्ने, चोखोनितो गरी विभिन्न परिकारहरू तयार पार्दछन् र घरपरिवारका सम्पूर्ण मानिस जम्मा भएर मिठामिठा परिकारको स्वादमा रमाउँदै, घाम ताप्दै एक आपसमा दुःखसुखका गफमा रमाउँदै, भजनकीर्तन गर्दै यस पर्वलाई मनाउने गर्दछन् ।
यसै दिन भक्तपुर जिल्लाको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा हुने गर्दछ । उपत्यका नजीकैको पनौतीमा मकर मेला लाग्छ । लिच्छवि कालीन राजा मानदेवको पालादेखि नै सुरू भएको अनुमान रहेको यो मेलामा असङ्ख्य भक्तजनको जमघट हुने गर्दछ ।
माघे सङ्क्रान्तिका दिन इलाम जिल्लाको माइबेनीमा मेला लाग्छ । सदरमुकामबाट तीन किलोमिटर पूर्वमा रहेको माईखोला र जोगमाई खोलाको दोभानमा लाग्ने उक्त मेलामा हजारौं भक्तजनको घुँइचो लाग्छ । उक्त मेलामा धाननाच, चण्डीनाच, बालन, संगिनी, मारूनी नाच जस्ता परम्परागत नृत्य हेर्न पाइन्छ ।
यसैगरी माघे सङ्क्रान्तिका दिन झापा जिल्लाको प्रसिद्ध धार्मिक नदी कन्काईमा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन् । सङ्क्रान्तिदेखि पाँचदिनसम्म कन्काई नदीको वरिपरि रमाइलो मेला लाग्ने र किराँत परम्परा एवं संस्कृतिअनुरूप धाननाच देखाइने प्रचलन छ ।
सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्रमा माघे सङ्क्रान्तिका दिन विहानैदेखि हजारौं हिन्दू धर्मावलम्बीले स्नान गरी भगवान विष्णुको पूजा आराधना गर्छन् । हिन्दू धार्मिक विश्वासका आधारमा उक्त स्थानमा त्यस दिन मकर नुहाई शरीर स्वच्छ बनाएमा मोक्ष पाउने विश्वास गरिन्छ ।
यस पर्वलाई तराईका जिल्लाहरूमा मैथिलीले तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन् । यस पर्वमा परिवारका अग्रज र आमा–बाबुले आफ्ना सन्ततिलाई सख्खर र तिल खुवाई उनीहरूबाट बुढेसकालमा सेवा गर्नुपर्ने बचन लिने गर्छन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । यी परिकार पूजापाठ गरी सर्वप्रथम घरका देवदेवीलाई चढाइन्छ ।
मिथिलाञ्चलमा भक्तजनले माघे सङ्क्रान्तिका दिन विहानै चोखो भई प्रसन्न मुद्रामा भगवती मन्दिरका प्रवेशद्वार तथा आ–आफ्नो घर–आँगनमा कमलको फूलजस्तै चित्र बनाई श्रृङ्गार गर्छन् ।
कतिपय धर्मावलम्बीले विहान नुहाएर भगवतीको उपासना गर्ने र कतिपयले भगवतीको प्रतिमासामु तेल, चामल, सख्खर आदि चढाएर आफूभन्दा कान्छो मानिसको हातमा दिने चलन छ ।
धार्मिक मान्यताअनुसार भगवान र भगवती दुवैलाई सम्मान र श्रद्धाका साथ पूजाआजा गरी भगवतीलाई सिन्दूर, चुरा र तिलको लड्डु चढाउने गरिन्छ भने भगवानलाई मिठाई, फलफूल र तिलको लड्डु अनिवार्य रूपमा चढाई खिचडीको भोग लगाइन्छ ।
यस पर्वमा खिचडी खान अनिवार्य भएकाले यसलाई खिचडी पर्व पनि भनिन्छ । यो पर्वमा ब्राह्मण भोजनको पनि व्यवस्था गरिन्छ । ब्राह्मणलाई दान गर्नका लागि तिल तथा सख्खरबाट बनाइएको लड्डुको प्रयोग गरिन्छ ।
यस पर्वमा तिल तथा चिउराको प्रयोग अत्यधिक हुने भएकाले यसलाई तिलवाच्युरा पनि भन्ने चलन छ । यसबाहेक चामल, खिचडीका सामग्रीहरू जस्तै मासको दाल, अरवा चामल, नुन, बेसार, तरकारी, घिउ र दही दान गरिन्छ ।
मैथिल महिलाका लागि तिला सङ्क्रान्ति पर्वको अझ बढी महत्व छ । यसै दिनदेखि कन्याहरू सुयोग्य वर प्राप्तिको कामनाले तुसारी पर्व मनाउन थाल्छन् भने विवाहित महिला पृथ्वी पर्व मनाउने गर्छन् ।
चर्चित माघे सङ्क्रान्ति मेला रूरू क्षेत्र रिडीमा तीन दिनसम्म लाग्छ । धेरै भक्तजनको उपस्थिति रहने उक्त मेला जेठी, माईली र कान्छी सङ्क्रान्तिका रूपमा तीन दिन लाग्ने गरेको हो ।
मेलाको पहिलो दिन बिहानैदेखि कालीगण्डकी नदीमा स्नान गरी हृषिकेश मन्दिरमा पूजाअर्चना गर्नेको घुइँचो लाग्छ । कालीगण्डकी नदीमा स्नान गरी हृषिकेशको दर्शन गर्दा चार धाम गए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजन उक्त मेलामा आउँछन् ।
ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण तानसेन बजारदेखि ३६ किलोमिटर दक्षिण–पश्चिममा पर्ने गुल्मी, पाल्पा र स्याङजा जिल्लाको सङ्गमस्थलबाट बग्ने पवित्र कालीगण्डकी नदी र गण्डकीको तिरमै पुरानो हृषिकेश मन्दिर छ ।
देवघाटमा हरेक वर्ष लाग्ने मकर सङ्क्रान्ति मेला बाँसको लिंगो गाडेर शुभारम्भ गरिन्छ । भारतको इलाहावादको प्रयागभन्दा विशिष्ट र हरिद्वार, ऋषिकेशको तुलनामा निकै मनोरम र ठूलो महत्व बोकेको देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न स्वर्गबाट देवता आउने जनविश्वास छ ।
धार्मिक र पर्यटकीय महत्व बोकेको देवघाटमा तीन दिन मेला लाग्छ । मेलासँगै गलेश्वर आश्रममा लक्ष्यहवन गरिन्छ ।

थारू समुदायमा बेग्लै उल्लास

माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ। यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी ९माघी० खाने चलन छ ।
यतिबेला ुसखियै हो, माघीक पिली गुरी जाँरु भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा गाइने गीतलाई धमारु भनिन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजीकैको खोलानालामा नुहाउन जाने चलन छ । यसलाई माघ लहानु भन्ने गरिन्छ ।
नुहाइसकेपछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई ुखिचरहवाु भनिन्छ ।
माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ । दाङ(देउखुरीमा पर्ने धार्मिकस्थल रिहार थारू समुदायको परम्परागत देवथानको रूपमा रहेको छ, त्यहाँको तातो कुण्डमा स्नान गर्न माघीको दिन भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ ।
त्यहाँ भारतबाट समेत ठूलो सङ्ख्यमा तीर्थालुहरू आउँछन् । त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने भन्ने धार्मिक विश्वास छ ।
यसैगरी दाङ देउखुरीकै गोबरडिहाको जङ्गलवा कुट्टीमा पनि माघे सङ्क्रान्तिमा मानिसहरू रातभरि जाग्रम गरी पूजाआजा गर्छन् । यसलाई बाघनाथ बाबा कुट्टी भनिन्छ ।
त्यस्तै, दाङदेउखुरीको कालापानीको कुण्डमा स्नान गरी पूजा गर्नाले लुतोलगायतका रोग निको हुन्छ भन्ने जनविश्वास छ । यो ठाउँ स्थानीय थारू भाषामा खौराबाबाको नामले प्रख्यात छ । खौराबाबालाई शिवजीको अर्को रूप मानिन्छ ।
माघीको दिन नुहाएर दाल, चामल छोइसकेपछि मान्यजनहरूसँग ढोगभेट गरी आशीर्वाद लिने प्रचलन छ । यसलाई सेवाढोग वा सेवा सलाम लग्ना भनिन्छ । यो प्रक्रिया घरबाट सुरू भई गाउँभरि नै गएर सेवा सलाम लिने दिने र खानपिन गर्ने प्रचलन छ । जति ठूलो गाउँ भए पनि सबै घरमा सेवासलामको लागि पस्नुपर्ने हुन्छ ।

नयाँ आर्थिक वर्ष

माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ(आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन छ । माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपातीलगायत यावत् अन्य व्यवहारहरूको नवीकरण गरिन्छ ।

घरसल्लाह गर्ने पर्व

माघीमा नै थारू समुदायका मानिसहरू आफ्नो घर सल्लाह गर्ने प्रचलन रहेको छ । माघीमा भाइभाइ एक ठाउँमा बसेर खानपिन गर्दै घर सल्लाह गर्ने गरिन्छ । घर सल्लाहमा कसलाई के जिम्मेवारी दिने, घरको मूलीको बन्नेजस्ता कुराको छलफल हुन्छ ।
घरपरिवारभित्र जिम्मेवारी पाएका सदस्यले माघीमा स्वतन्त्र भएर हेरफेर गर्न सक्दछन् । भाइभाइमा मन नमिले माघीमा नै अशंबण्डा गरिन्छ । यसलाई घर फुटाइ पनि भनिन्छ । अंशबण्डामा कुनै भाइलाई मर्का नपरोस् भन्ने उद्देश्यले गाउँका पञ्च भलाद्मी, महटाँवा, बरघरहरूलाई मध्यस्थकर्ताको रूपमा बोलाइएको हुन्छ ।

अगुवा चुन्ने काम

गाउँको विकास कसरी गर्ने भन्ने सवालमा माघको पहिलो हप्ताभित्रै बैठक बसेर सामूहिकरूपमा गत वर्षको कामकारबाहीबारे छलफल गरिन्छ । वर्षको एकपटक बस्ने गाउँको सो भेलालाई भुरा खेल ख्याला भनिन्छ
। बैठक गाउँको अगुवाको घरमा बस्छ । अगुवालाई ठाउँविशेष अनुसार बरघर, ककनदार, भल्मन्सा, महटाँवा पनि भनिन्छ । बैठकमा गत वर्षमा भए गरिएका कुलापानी, धार्मिक पूजापाठलगायत विकासको कामको समीक्षा हुन्छ ।
आगामी वर्षको लागि उही बरघरलाई निरन्तरता दिने या नयाँ चुन्ने विषयमा छलफल हुन्छ । सोही बैठकले सहायक बरघर, अघारी, सघारी, कुलापानी चौधरी, गाउँको चौकीदारदेखि फलामको काम गर्ने व्यक्तिसम्मको छनोट गर्छ । यही बैठकले गाउँलाई अनुशासित बनाउन नयाँ नियम कानून पनि बनाउँछ ।

No comments:

Post a Comment