इतिहासको राष्ट्रियकरण गर्ने सिलसिलामा उपयोग गरिएको दोस्रो प्रविधिचाहिँ पाठ्यपुस्तकमा सम्मिलित नगरिएका विषयहरुको चर्चा गरेर पुष्टि गर्न सकिन्छ । यस प्रसङ्गमा पञ्चायती पाठ्पुस्तकबाट हराएका भी.सी. विजेता गजे घलेबारे यहाँ उल्लेख गरिन्छ ।
सन् १०५० को दशकमा दार्जीलिङका पारसमणि प्रधान र रुद्रमणि प्रधानले तयार गरेका नेपाली साहित्य (दोश्रो भाग) भन्ने पुस्तकमा “जमदार गजे घले” शीर्षकको पाठ पनि परेको थियो । सन् १९५० को दशकमा र सन् १९६० को दशकको मध्यसम्म पूर्व नेपालदेखि मध्यपश्चिम नेपालका विभिन्न स्कुलमा पढेका विद्यार्थीहरुले यो पाठ पढेको कुरा यस लेखकलाई सुनाएका छन् । उक्त पाठमा मध्य नेपालको बारपाक भन्ने गाउँमा जन्मिएका गजे घले रिक्रुटको रुपमा ब्रिटिस भारतीय गोर्खा रेजिमेन्टमा सन् १९३५ मा भर्ना भएको कुरा उल्लेख छ । दोस्रो विश्वयुद्धको समयमा बर्मामा भएको युद्धमा बासा पहाडस्थित एक
जापानी पोष्ट कब्जा गर्ने क्रममा देखाएको बहादुरी बापत उनलाई भिक्टोरिया क्रस (भीसी) तक्मा दिइएको कथा उक्त पाठमा उल्लेखित छ । त्यस पाठमा गजे घलेलाई कुनै पनि जातिका बहादुरको प्रत्यक्ष प्रतीकको रुपमा उभ्याइएको छैन, यद्यपि प्रधानद्वयको अभिलाषा घलेमार्फत गोर्खा बहादुरीको चर्चा गर्नु हो भन्ने प्रस्ट छ ।
सन् १९६० को दशकको उत्तरार्ध र सन् १९७० मा नयाँ शिक्षाअनुरुप तयार गरिएको पाठ्यपुस्तकमा गजे घलेसम्बन्धी पाठ सम्मिलित गरिएन । नयाँ शिक्षाको पाठ्यक्रम पढी हुर्केका यस लेखकजस्ता नेपालीहरुले गजे घले वा भीसी तक्मा पाउने अरु गोर्खा वीरहरुबारे स्कुलमा पढ्ने मौका पाएनन् । यसबाट शिक्षाको राष्ट्रियकरण गर्ने क्रममा नेपाल राष्ट्रको र नेपालीहरुको गौरवमय इतिहासबारे मात्र स्कुलका विद्यार्थीहरुलाई बुझाउने उद्देश्य राख्ने राज्यले आफ्ना नागरिकहरु अरु राष्ट्रका सेनामा सम्मिलित भएर कमाएको नाम नेपाली इतिहाससँग गाँसेर हेर्न रुचाएन भन्ने बुझिन्छ । बलभद्र नालापानीपछि सिख सेनामा भर्ती भएको र त्यही सेनाका लागि लड्ने क्रममा उनको मृत्यु भएको कुरा जसरी हाम्रा पाठ्यपुस्तकबाट हराए त्यसैगरी गरिब नेपालीहरुले अरुको सेनामा काम गरी कमाएको प्रशंसा पनि नेपाली इतिहासको गौरव–गाथामा सम्मिलित गर्न नमिल्ने भएकाले गजे घले हाम्रा पाठ्यपुस्तकबाट हराएका हुन् ।
नेपालको “वीर” इतिहासको वर्णनभित्र गजे घलेजस्तालाई सम्मिलित गर्दा नेपालको “स्वाभिमानी गौरव–गाथा” टिक्न नसक्ने भएकोले नै यसो गरिएको हो । त्यसबाहेक पाठ्यपुस्तकमा नेपालको वीर इतिहासलाई “एकीकरण” कालमा मात्र सीमित राख्नुपर्ने हुनाले पनि गजे घलेजस्ता गोर्खा वीरसम्बन्धी पाठ हटाइएको हुन सक्तछ ।
No comments:
Post a Comment