.dateHeader/>

गुरुङहरुले वैशाख चण्डी पूर्णे र बुद्ध जयन्ती कसरी मनाउँछन् ?

वैशाखे चण्डी पूर्णेकाे दिन शाक्यमुनी गौतम बुद्ध जन्मेको हुनाले उक्त दिन नेपाल लगायत विभिन्न बुद्धिष्ट मुलुकहरुमा बुद्ध जयन्ती मनाइन्छ । तर तमू गुरुङ जातिले आफ्नै संस्कार र परम्पराअनुसार बिहान बायो पुजा गरी बेलुका घाँटु नाचेर वैशाखे पूर्णे मनाउँछन् । तमूहरुको चाड पर्व ल्होसारबाट सुरु हुन्छ । यसै क्रमगत हिसाबले वैशाख पूर्णे तमू जातिको पाँचौं पर्व अर्थात् बायो पित्रीहरुको पुजा गर्ने दिन हो ।
पहिलो चाड – पुष-१५ = ल्होसार,
दोस्रो चाड – माँङी पर्व / माघे सक्रान्ति = चेलीबेटी लाई मानाचामल दिने,
तेस्रो चाड
– म्येत्हलेँ ल्हिब =धनुषाबाण हान्ने,
चौथो चाड – ट्हों त्हेँ =गाउँ रक्षा पुजा
पाँचौ चाड – बैशाख चन्डी पुर्णे/बायो पुजा= अर्घौं (पै) गर्न बाँकीको आत्मालाई पुज्ने दिन ।

वैशाख पूर्णेको दिन तमु जातिले आफ्नो पित्री कार्य अर्घुम (पै) गर्न बाँकी मृतात्मा को शान्तिको लागि र वर्षभरि अथवा अर्घुम नगर्दासम्म ती वायुहरुले अर्थात अर्घु नगरेका मृताआत्माहरुले जिउँदो भएको आफन्तहरुलार्इ दुःख नदियोस् भनी वहाँहरुको नाममा गाउँबाट नजिकैको वनमा भएको चिलाउनेको रुखको फेदमा काठ र खरको अथवा ढुङ्गाको प्रयोग गरि सानो घर बनाएर वा बाजेमन्डलीको स्थानमा आ-आफ्नो भाइखलकको जेठोले बिहानै केही नखाइ नुवाइँधुवाइँ गरी चोखोनिताे गरी उक्त बायोको थानमा प्राकृतिक बनावट भएको ढुङ्गा राखी त्यसमा वायु बनेको मृत ब्यक्ति पुरुष भएमा कुखुराको भाले अथवा बाख्राको पाठो र महिला भएमा कुखुरा पोथी अथवा बाख्रा पाठी काटी पुजा गरिन्छ । चोखो पानी, चोखो भात, चोखो तरकारी, चोखो मासु , चोखो फुल, खाने फलफूल, चामलको रोटी, दूध, रक्सी, खिर  आदि चढाइ पुजा गरिन्छ ।
उक्त दिन गाउँको नजिक भएको चन्डीथान अथवा भयँर थानमा गाउँले सबै मिलेर कुखुरा र बाख्रा काटी पुजा गरिन्छ । त्येसै दिन बेलुकी गुरुङहरूले गाउँगाउँमा घाँटु नाचिन्छ र बेलुकी रोटीरक्सी खाई धुमधामसँग रमाइलो गरी वैशाखे पूर्णे मनाइने गरिन्छ भने गौतम बुद्ध पनि सोही दिन जन्मनु भएकोले बौद्ध धर्ममा आस्था राख्दै आएका केही गुरुङहरूले बुद्ध जयन्ती पनि मनाउने गरेको पाइन्छ ।

No comments:

Post a Comment