.dateHeader/>

कृषि पेसाबाटै ४ करोडको सम्पत्ति

२०७२ चैत १७ गते १३:२० मा प्रकाशित  Online Khabar
१७ चैत, विराटनगर । आधुनिक कृषिबाट वार्षिक १० लाखसम्म आम्दानी गरेर जिल्लामै उदाहरणीय बनेका छन्, मोरङ मोतिपुरका एक थारु दम्पती ।
मोतिपुर-२ शुक्रबारेका दम्पती प्रकाश सरदार र झिजिया आधुनिक कृषिमा जिल्लामै उदाहरणीय बनेका हुन् । परम्परागत कृषिलाई व्यावसायिक रुपमा अँगालेका थारु दम्पतीले २० वर्षमा ४ करोड रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।
सात कक्षासम्म अध्ययन गरेका प्रकाश अहिले ४५ वर्ष पुगे । उनले ०४५ सालदेखि आधुनिक खेती सुरु गरेका थिए । निरन्तरताले नै आज यो सफलता हासिल गरेको प्रकाश बताउँछन् । ‘दिनमा १६ घन्टा श्रम गरेको हुन्छु । यसको प्रतिफल आज
सबैलाई देखाउन सकेको छु,’ उनले भने । उनले सुरुमा तीन बिघा जग्गामध्ये १० कट्ठामा तरकारी लगाएका थिए । तरकारी खेती बढाउँदै गएर अहिले ९ बिघा जमिन र विराटनगरमा घर-घडेरी जोडेका छन् । प्रकाशका पाँच छोरी विराटनगरमा पढ्दै छन् ।
तरकारीखेतीमा मेहनत गरेको देखेर सुरुमा गाउँलेले अनेक कुरा गरेको प्रकाश सम्झन्छन् । ‘मैले तरकारीखेती सुरु गर्दा गाउँले अचम्म मानेका थिए । मेरो एकोहोरो मेहनत देखेर छिमेकीले बौलाहा समेत भनेको सुन्थेँ,’ प्रकाश सम्झन्छन्, ‘अहिले मेरा साथीहरू मेरो सफलता देखेर अनुसरण गर्न थालेका छन् । गाउँलेलाई निरन्तरको मेहनतले सफलता मिल्छ भन्ने सिकाउन सकेको छु, यसमा म गर्भ गर्छु ।’
अहिले कृषि व्यवसायबाट वाषिर्क सातदेखि १० लाख आम्दानी हुने उनी बताउँछन् ।  उनीहरूले माछा पोखरी, ६ बिघामा बिरुवा उत्पादन गर्ने नर्सरी, उन्नत जातका पाठापाठी उत्पादन गर्न बाख्राको व्यावसायिक पालन र गाईपालन एवं तरकारीखेती गर्दै आएका छन् ।
कृषिले धेरै युवालाई आत्मनिर्भर बनाउने र बिदेसिनुनपर्ने उनको धारणा छ । ‘युवाहरु देशमा कृषि गर्न हिचकिचाउँछन् । तर, लाखौँ खर्चेर अर्काको देशमा काम गर्न जान्छन् । यदि स्वदेशमा नै मेहतन गरे परिवारसँगै बसेर कमाउन सकिन्छ,’ उनले भने ।
स्थानीय सगरमाथा कृषक समूहका सचिव कुमार पराजुलीले कृषि व्यवसायमा उनले गरेको प्रगति सबैले अनुसरण गर्न लायक रहेको बताए ।
‘उहाँले बिहान ३ बजेदेखि साँझ १० बजेसम्म मेहनत गर्नुहुन्छ । उहाँको परिश्रम र सफलता देखेर अहिले अन्य स्थानीय पनि आधुनिक कृषिमा आकषिर्त भएका छन्,’ सचिव पराजुलीले भने, ‘उहाँको सफलताले गर्दा अहिले कृषिको आधुनिकीकरणका लागि धेरै संघ-संस्थाले सहयोग पनि गर्न थालेका छन् । हामीले पनि हाम्रो संस्थाबाट उहाँलाई आर्थिकसँगै प्राविधिक सहयोग गर्दै आएका छौँ ।’

No comments:

Post a Comment